खैरहनीमा मनपरि शुल्क वृद्धि गरेको भन्दै अनेरास्ववियु क्रान्तिकारीको आपत्ति, ४८ घण्टाभित्र फिर्ता लिन अल्टिमेटम

Samabesi
  |   
प्रकाशित मिति: असार ०९, २०७९
562 Shares

चितवन , ९ असार ।  पूर्विचितवनको खैरहनीमा रहेका केहि निजी विद्यालयहरुले मनपरि शुल्क बढाएको भन्दै अनेरास्ववियु क्रान्तिकारीले आपत्ति जनाएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खैरहनी नगरकमिटीले आज एक विज्ञप्ति जारी गर्दै केहि संस्थागत विद्यालयहरुले अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरि गरेको शुल्क वृद्धि तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

त्यस्तै कोरोना महामारीको बेला समेत पुरै शुल्क लिएको , सो अवधिमा दिने भनिएको ३० प्रतिशत छुट दिने भनिएतापनि केहि विद्यालयले हालसम्म उक्त रकम मिलान नगरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नगर कमिटीका कार्यबाहक अध्यक्ष विराज उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ४८ घण्टाभित्र वृद्धि गरिएको शुल्क फिर्ता र कोरोनाको बेला दिने भनिएको छुट कार्यान्वयन गर्न अल्टिमेटम दिइएको छ । त्यस्तै विद्यालयले विद्यार्थीहरुबाट यातायातको नाममा शुल्क लिने तर सो अनुसारको सुविधा नदिई बसमा सिट क्षमता भन्दा धेरै विद्यार्थी खोचेर लाने गरेको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ ।

यता प्याब्सन खैरहनीका अध्यक्ष टेकराज अधिकारीले संस्थागत विद्यालयहरुले शुल्क नबढाएको बताए । एकपटक शुल्क वृद्धि गरेपछि ३ बर्षसम्म शुल्क वृद्धि गर्न नमिल्ने व्यवस्था अनुसार अघिल्लो पटक शुल्क वृद्धि गरेको ३ बर्ष पुगेकाले यसबर्ष शुल्क बढाउने गृहकार्य भइरहेको तर अहिले नै शुल्क वृद्धि भइनसकेको उनले बताए । शुल्क वृद्धिको लागि सबैसँग सरसल्लाह गरेर नयाँ शुल्क प्रस्ताव गरिने र उक्त शुल्क नगरपालिकाबाट स्वीकृत भएपश्चात् मात्रै शुल्क वृद्धि हुने अध्यक्ष अधिकारीले प्रष्ट पारेका छन् । 

samabesi
प्रकाशित मिति: असार ०९, २०७९
562 Shares
Footer ads