परीक्षा पास भएको साढे दुई महिनापछि दुई जिल्ला न्यायाधीश नियुक्त

Desk
  |   
प्रकाशित मिति: जेष्ठ २९, २०७९
104 Shares

काठमाडौं, २९ जेठ । जिल्ला न्यायाधीशको परीक्षामा उत्तीर्ण भएका दुई जनालाई न्याय परिषद्ले नियुक्ति दिएको छ । लोकसेवा आयोगले लिएको परीक्षामा  उत्तीर्ण भएका ओम बहादुर सोडारी र भुवन गिरीलाई जिल्ला न्यायाधीशमा नियुक्ति गरिएको हो ।


न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीका अनुसार गत चैत ६ गते भएको अन्तिम परीक्षामा उत्तीर्ण भएका ओम बहादुर सोडारी र भुवन गिरीलाई नियुक्ति गरिएको हो । सोडारीलाई झापा जिल्ला अदालत र गिरीलाई नवलपुर जिल्ला अदालतमा कामकाज गर्ने गरी नियुक्ति दिइएको हो ।


करिब २ सय जनाले दिएको जिल्ला न्यायाधीशको परीक्षामा तीनजना मात्रै उत्तीर्ण भएका थिए । हाल नियुक्त पाएका ओम बहादुर सोडारी र भुवन गिरी सहित लिखित परीक्षामा चन्द्रकुमार पोखरेल पनि उत्तीर्ण भएका थिए । तर पोखरेल निलम्बनमा परेको कारण अन्तरवार्तामा सहभागी हुन पाएका थिएनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्धसमेत भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । उनले गरेको नीतिगत निर्णयको विषयलाई लिएर अख्तियारले मुद्दा दायर गरेको थियो ।


गत चैत ६ गते नै परीक्षामा उत्तीर्ण भए पनि उनीहरूलाई नियुक्ति दिइएको थिएन । जेठ २७ गते शुक्रबार बसेको परिषद्को बैठकले उनीहरूलाई नियुक्ति दिने निर्णय गरेको हो । परीक्षामा उत्तीर्ण भएको साँढे दुई महिनापछि मात्रै उनीहरुले नियुक्ति पाएका हुन् ।

Desk
प्रकाशित मिति: जेष्ठ २९, २०७९
104 Shares
Footer ads