चितवनमा मतदानको तयारी पूरा

Desk
  |   
प्रकाशित मिति: बैशाख २९, २०७९
61 Shares


चितवन, २९ वैशाख। भोलि हुने स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । एकै चरणमा देशभर हुन लागेको स्थानीय तह निर्वाचनको चितवनको सात पालिकाका १६१ मतदानस्थलका ४५१ मतदान केन्द्रमा तयारी पूरा भएको हो ।

जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी पुगेर बुधबार र बिहीबार मतदाता परिचयपत्र वितरण गरेका थिए । बिहीबार दलका प्रतिनिधिसहितको सर्बदलीय बैठक तथा मतदानस्थल निर्माणसँगै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिनुभयो । जिल्लाका सबै मतदान केन्द्रबाट दुई दिनसम्म मतदाता परिचय वितरण गरिएको उल्लेख गर्दै कार्कीले मतदाता नामावलीमा नाम भएका सबै मतदाताहरुले परिचय खुल्ने सरकारी कागजपत्रको आधारमा मतदान गर्न पाउने उल्लेख गनुभयो । उहाँकाअनुसार चितवनमा मतदान गराउनका लागि तीन हजार ६०८ जना कर्मचारी खटिएका छन् । मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरि पाँच जना कर्मचारी तथा तीन जना स्वयंसेवक खटाइएको कार्कीले जानकारी दिनुभयो । त्यस्तै मतदानस्थलको सुरक्षाको लागि सबै मतदानस्थलमा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले मतदान स्थलको बाहिरी घेरामा सशस्त्र प्रहरी र चौथो घेरामा नेपाली सेनाले सुरक्षा दिने उहाँले बताउनुभयो । एकीकृत सुरक्षा योजना समितिले सुरक्षाका हिसाबले चितवनमा अतिसंवेदनशील २५, संवेदनशील ९२ र सामान्यमा ४४ वटा मतदानस्थललाई वर्गीकरण गरेको उहाँले बताउनुभयो ।

जिल्लामा दुई लाख चार हजार ६६६ महिला, एक लाख ९३ हजार १८ पुरुष तथा एक जना तेस्रो लिङ्गी गरी तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । कुल मतदातामध्ये भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता तथा ६५ वटा मतदानस्थल र २०२ वटा मतदान केन्द्र तोकिएको छ । त्यस्तै, रत्ननगर नगरपालिकामा ५२ हजार ६४२ मतदाता तथा २१ वटा मतदानस्थल र ६० वटा मतदान केन्द्र रहेका छन् । त्यसैगरी, खैरहनी नगरपालिकामा ४३ हजार ५३१ मतदाता तथा १७ मतदानस्थल र ५१ मतदान केन्द्र रहेका छन् । कालिका नगरपालिकामा ३१ हजार १५७ मतदाता तथा ११ वटा मतदानस्थलमा ३७ केन्द्र रहेका छन् भने राप्ती नगरपालिकामा ४० हजार ६४९ तथा १८ मतदानस्थल र ४७ मतदान केन्द्र रहेका छन् । त्यस्तै, माडी नगरपालिकामा २८ हजार ३२० मतदाता तथा १५ मतदानस्थल र ३२ मतदान केन्द्र तोकिएको छ भने जिल्लाकै एक मात्र इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदाता तथा १४ मतदानस्थल र २२ वटा मतदान केन्द्र तोकिएको छ । चितवनमा मतदानका लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Desk
प्रकाशित मिति: बैशाख २९, २०७९
61 Shares
Footer ads