प्रचण्डसहित तीन मन्त्रीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

Desk
  |   
प्रकाशित मिति: बैशाख २९, २०७९
54 Shares

चितवन,२९ वैशाख ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध निर्वाचन आचारसंहिता ०७८ उल्लंघन गरेको उजुरी दर्ता भएको छ । उनीहरू विरुद्ध भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले आज मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरमा लिखित उजुरी दिएका हुन् ।

महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजागर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध पनि उजुरी परेको छ ।

मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लघंन गर्दै प्रचण्ड मतदाता प्रभावित गर्न सक्रिय बनेका छन् । बुधबार स्थलमार्गहुँदै भरतपुर आइपुगेका प्रचण्ड आफ्नो छोरी रेणु दाहालको निवासमा राति अबेरसम्म बसेर नेता कार्यकर्ताहरूलाई भेटेका थिए ।

आज बिहान पश्चिम चितवनको विभिन्न स्थानमा पुगेर प्रचण्डले गठबन्धनका उम्मेदवारको लागि भोट मागे । त्यसलगत्तै उनी आचारसंहिताको धज्जी उडाउँदै माडी पुगे ।

माडीको एक होटलमा बसेर २५-२५ जनाको समूहमा कार्यकर्तालाई भेटेर निर्वाचन आफ्नो पक्षमा पार्न निर्देशन दिए । माडीमा माओवादी केन्द्र भित्रको नारायणकाजी श्रेष्ठ र प्रचण्ड पक्षका कार्यकर्ताबीच विवाद रहेको छ । उनीहरूलाई फकाउन प्रचण्ड माडी पुगेका हुन् ।

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले दुई वटा भिडियोको टुक्रासहित ठाडो उजुरी परेको बताए । ‘दुई वटा भिडियो राखेर आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेको छ । भिडियोमा प्रचण्ड बाटोमा हिँडिरहेको देखिन्छन् । अरु प्रमाण राखिएको छैन,’ उनले भने ।

यसअघि मेयरकी उम्मेदवार रेणु दाहालविरुद्ध लिखित उजुरी परेको थियो । दाहालविरुद्ध दुई पटक स्पष्टिकरण सोधिसकेको उनले बताए ।

मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै परवाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आम मतदाताको घर-घरमा पुगेर प्रचण्डले प्रभावमा पार्ने काम गरेको उजुरीमा उल्लेख गरिएको छ ।

त्यस्तै, मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरमा आर्थिक चलखेल गरेको भन्ने भिडियोसहित सूचना आएकोले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न माग गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी पनि चितवनमै छन् । होटल सिराइचुलीमा बसेर भण्डारीले स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको पक्षमा लागेका कार्यकर्तालाई फकाएर फिर्ता ल्याउन व्यस्त रहेको स्रोतले बतायो ।

 

Desk
प्रकाशित मिति: बैशाख २९, २०७९
54 Shares
Footer ads