संघीय मामिला मन्त्री श्रेष्ठलाई कार्यकक्षमा पुगेर पार्टीकै सांसदले गरे हातपात

Desk
  |   
प्रकाशित मिति: जेष्ठ २६, २०७९
128 Shares

काठमाडौं,२६ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई पार्टीकै नेताले हातपात गरेका छन् । जनता समाजवादी पार्टी जसपाका प्रभावशाली नेता समेत रहेका श्रेष्ठलाई सोही पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले हातपात गरेका हुन् ।
आफ्नो क्षेत्रमा बजेट नपारिदिएको भन्दै यादवले सिंहदरबारस्थित मन्त्रीकै कार्यकक्षमा आएर हातपात गरेको स्रोतले दाबी गर्‍यो ।

यादव बारा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसबारे प्रतिक्रिया माग्दा यादवले चर्काचर्की मात्र परेको बताए ।
 

'मेरो निर्वाचन क्षेत्रको योजना पेश गर्दा पनि बजेटमा नआएपछि किन नआएको भनेर प्रश्न गर्न जाँदा चर्काचर्की भएको हो,' यादवले लोकान्तरसँग भने ।

स्रोतका अनुसार यादवले हातपात गरेपछि पीएसओ नै आएर बचाउनुपरेको थियो । त्यसपछि प्रहरी समेत बोलाइएको स्रोतको दाबी छ ।

घटनास्थलमै रहेका निलम्बित सांसद हरिनारायण रौनियारले पनि तनाव भएको स्वीकारे । तर, उनले विस्तृतमा खुलाउन चाहेनन् ।

लोकान्तरबाट

Desk
प्रकाशित मिति: जेष्ठ २६, २०७९
128 Shares
Footer ads