चितवन, २१ वैशाख । चितवनको भरतपुर महानगरपालिकामा दुई सन्तान मात्र जन्माउने आमालाई मासिक ५ हजार रुपैयाँ भत्ता दिइने भएको छ । त्यस्तो भत्ता आमा र शिशुको पोषणको लागि छ महिनासम्म दिइने भएको हो ।
सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट संयुक्त रुपमा जारी संकल्पपत्रमा उक्त भत्ताबारे उल्लेख गरिएको हो । भरतपुरमा पाँच दलीय गठबन्धनको तर्फबाट महानगर प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारी प्रत्यासी छन् ।
यसअघि गठबन्धनका उम्मेदवारहरुले हेटौंडा उपमहानगरपालिकामा स्थानीयलाई मासिक तीन सय युनिट बिजुली सित्तैँ दिने उल्लेख गरेका थिए ।
विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले चुनावी घोषणा पत्रमा आकर्षक नारा र कार्यक्रम अघि सारेका छन् । तर, त्यसको निम्ति आवश्यक पर्ने आर्थिक स्रोतको बारेमा उनीहरु अनभिज्ञ देखिन्छन् ।
उता सुदूरपश्चिमको भागेश्वर गाउँपालिकामा उठेका एक जना स्वतन्त्र उम्मेदवारले पालिकाका खेतीयोग्य जमिनमा हेलिकप्टरबाट बीउ छर्ने र सिचाईं गर्ने प्रतिबद्धता जनाएका छन् । असम्भवप्रायः देखिने यस्ता प्रतिबद्धताले सर्वसाधारणलाई चुनावी नारा र घोषणाप्रति विश्वासको सट्टा अविश्वास उत्पन्न गराएको देखिन्छ ।