गैँडाकोटमा नेपाल विश्वविद्यालयको रणनीतिक योजना कार्यशाला शुरु

Samabesi1
  |   
प्रकाशित मिति: कार्तिक १२, २०७८
95 Shares

नवलपुर, १२ कात्तिक । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा खुला विश्वविद्यालय स्थापनाका लागि तीन दिने रणनीतिक योजना कार्यशाला शुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भर्चुअल माध्यमबाट कार्यशालाको उद्घाटन गर्नुभयो । 
मुख्यमन्त्री पोखरेलले विश्वविद्यालयका लागि जग्गा प्राप्ती तथा आवश्यक नीति, निर्देशिकामा प्रदेश सरकारको तर्फबाट साथ, सहयोग र समर्थन रहने बताउनुभयो । उहाँले देशका मात्रै नभएर विदेशका विद्यार्थीलाई समेत आकर्षण गर्नेगरी स्थापना हुन लागेको विश्वविद्यालय स्थापनाका लागि शुभकामना दिनुभयो । कार्यशालामा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमाले नेपालको पठनशैली पुरानो भएको भन्दै अब नयाँ प्राविधिक विषयवस्तु सहितका शिक्षा आवश्यक रहेकोमा जोड दिनुभयो । 
गैँडाकोटमा विश्वविद्यालय बन्ने कुराले उत्साही बनाएको बताउँदै माधेमाले एसिया कै नमूना बन्नेगरी विश्वविद्यालय सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अब आउने विद्यार्थीलाई विश्वविद्यालयले थेग्ला वा उनीहरुको आवश्यकता पूर्ति गर्ला भन्ने प्रश्न रहेको बताउनुभयो । नेपाल विश्वविद्यालय विकास समितिका अध्यक्ष डा. अर्जुन कार्कीले सम्भाव्यता अध्ययन गर्न बनेको कार्यदलले गैँडाकोटमा विश्वविद्यालय सम्भव छ र गैँडाकोटले जग्गा उपलब्ध गराउने प्रतिवद्धता गरिसकेपछि त्यसलाई साकार पार्न जोडिन आएको बताउनुभयो । 
सरकारले नेपाल विश्वविद्यालय विकास समिति गठन गरी आवश्यक जनशक्ति नियुक्त गरी गठन आदेशमा सूचि तयार गरी जिम्मेवारी दिएको समेत उहाँले जानकारी दिनुभयो । यो अवस्थासम्म आईपुग्न धेरै चुनौती पार गरिसकेको बताउँदै कार्कीले लक्ष्य प्राप्ती नहुनेबेलासम्म सबै एकजुट हुनुपर्ने बताउनुभयो । नागरिक समाजका अगुवा एवं पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेले विश्वविद्यालयका विषयमा चार वर्षअघि कुरा उठेको बताउँदै यसमा आफू पनि सहभागी हुने र साथ दिने बताएर लागिपरेको बताउनुभयो । 
कार्यक्रमका गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले चार वर्षअघि परिकल्पना गरिएको विश्वविद्यालय बनाउन पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेको बताउँदै उहाँहरुका साथै गण्डकी प्रदेशका मुख्यमन्त्रीको सहयोग गर्ने आश्वासनले खुसी तुल्याएको बताउनुभयो । गैँडाकोटमा विश्वविद्यालय स्थापना भएको अवस्थामा जिल्लालाई नै शैक्षिक हबका रुपमा स्थापित गर्न सकिन्छ भनि नगर सभाबाट पारित गरिएको जानकारी दिनुभयो । 
गैँडाकोट नगरपालिकाको विश्वविद्यालय बनाउने अभियानले निरन्तर रूपमा गति लिँदै आइरहेको छ । अनौपचारिक सरसल्लाहबाट उठान गरिएको यस अभियानले २०७४ असोज २५ गते गैँडाकोट नगरपालिकाले पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरेपछि आधिकारिक काम थालेको थियो । डा. प्रमोद ढकालको संयोजकत्वमा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, समाजसेवी गोविन्दराज कोइराला, शिक्षक देवराज शर्मा र युवा अभियन्ता करुणासागर सुवेदी सदस्य रहेको उक्त कार्यदलले ३ महिनाको अध्ययनपश्चात् विसं २०७४ पुस २१ गते आफ्नो अध्ययन प्रतिवेदन नगरपालिकासमक्ष प्रस्तुत गरेको थियो । 
गैँडाकोटमा विश्वविद्यालय स्थापना गर्न उपयुक्त र सम्भव दुवै ठहर गरेको उक्त प्रतिवेदनको सुझावअनुसार गैँडाकोट नगरपालिकाले अभियानलाई अङ्गिकार गर्नुका साथै असोजमा गठित समितिलाई निरन्तरता दिने निर्णय लिएको थियो । विसं २०७४ फागुनमा गैँडाकोटमा नवनिर्वाचित संघीय र प्रदेश सांसदहरू, वुद्धिजीवि तथा विभिन्न जनप्रतिनिधिको उपस्थितिमा अन्तरक्रिया गरिएको थियो तथा आगन्तुकहरूलाई गैँडाकोटको भौगोलिक अवस्थितिको अवलोकन भ्रमण गराइएको थियो । लगत्तै डा. देवेन्द्रराज पाण्डे, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, डा. केदारभक्त माथेमा, डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. सन्दुक रुइत, डा. महावीर पुन, डा. चैतन्य मिश्र, डा. चिन्तामणि योगी, पूर्वअर्थ सचिव रामेश्वर खनाल, वरिष्ठ आर्किटेक्ट विरेश साह, डा. राम आचार्य लगायतका थुप्रै राष्ट्रिय बौद्धिक व्यक्तिहरूको सहभागितामा छलफलसमेत गरेको थियो ।  
विसं २०७४ चैत २८ गते गैँडाकोट नगरपालिकाको दोस्रो नगरसभाले नेपाल विश्वविद्यालय स्थापनाको प्रस्तावलाई अनुमोदन गर्नुका साथै समग्र गैँडाकोटको विकासको एकीकृत योजना बनाएर आफ्नो नगरपालिकालाई शैक्षिक नगरका रूपमा विकसित गर्ने र त्यहाँ बौद्धिक अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ । नेपाल विश्वविद्यालय स्थापना नगर समितिले तयार पारेको अवधारणा पत्र २०७५ वैशाख २३ गते नगरपालिकालाई हस्तान्तरण गरी त्यसको अनुमोदन भइसकेको छ । अबको ४÷५ महिनामा विश्वविद्यालयको शिलान्यास गर्नेगरी तयारी एवं छलफल अघि बढेको छ ।  

Samabesi1
प्रकाशित मिति: कार्तिक १२, २०७८
95 Shares
Footer ads