बुझेर मात्रै शेयरबजारमा लगानी गर्न विज्ञको सुझाव : शनिबार शेयर बजारसम्बन्धी तालिम

Samabesi1
  |   
प्रकाशित मिति: कार्तिक ११, २०७८
437 Shares

चितवन, १२ कात्तिक । पछिल्लो समय नेपालको शेयर बजारमा लगानी गर्दा धेरैको विचल्ली भएको भन्दै विज्ञहरुले बुझेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन् । शेयरको सेकेण्डरी मार्केटमा लगानी गर्दा तुरुन्तै प्रतिफल नपाइने तथा बुझेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिइएको हो । 
शेयर मार्केटमा चासो दिने र लगानीकर्ताहरुद्वारा सञ्चालित इन्टेलिजेन्ट स्टक इनभेस्टर नेपालका सञ्चालकहरुले राम्रोसँग बुझेर मात्र शेयर मार्केटमा लगानी गर्न सुझाव दिएका हुन् । शेयर बजारका विज्ञ मधुसूदन लामिछानेले ऋण लिएर शेयर मार्केटमा लगानी गर्न नहुने बताए । बुधबार भरतपुर–१२ स्थित स्मार्ट बैंक्वेट एण्ड रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा शेयरमा आज लगानी गरेर भोलि कमाउने उद्देश्य राख्न नहुने उनले बताए । 
शेयर बजारमा लगानी गर्नेहरुमध्ये १० प्रतिशतले मात्रै कमाइरहेका भन्दै लामिछानेले ९० प्रतिशतले गुमाउने गरेका बताए । नबुझेर लाग्नेहरुले शेयरमा गरेको लगानी गुम्ने अवस्था भएको लामिछानेको भनाइ छ । 
शेयर बजार र लगानीका विषयमा जानकारी दिने उद्देश्यले आगामी कात्तिक १३ गते शनिबार भरतपुर–१२ स्थित स्मार्ट बैंक्वेट एण्ड रिसोर्टमा शेयर मार्केट सम्बन्धी एकदिने तालिम आयोजना गरिएको समेत लामिछानेले बताए । शेयर बजारको प्राथमिक शेयरमा लगानी गर्ने तथा दोस्रो बजारमा समेत लगानी गर्ने तथा शेयरबारे जानकारी लिन चाहने व्यक्तिहरुलाई लक्षित गर्दै तालिम प्रदान गर्न लागिएको लामिछानेको भनाइ छ । शेयर मार्केटबारे सचेतनाका लागि तालिम दिन लागिएको भन्दै उनले कुनै पनि व्यक्तिले नबुझी शेयर मार्केटमा लागेर आफ्नो जायजेथा नै नगुमाओस् भन्ने उद्देश्य राखेर तालिम दिन लागिएको बताए । 
इन्टेलिजेन्ट स्टक इनभेस्टर नेपाल चितवनका सञ्चालक सन्तोष खनालले तालिममा शेयर मार्केटका विज्ञबाट प्रशिक्षण दिने बताए । उनका अनुसार नेपालको शेयर मार्केटका विज्ञ सन्दिपकुमार चौधरी र मुक्ति अर्यालबाट प्रशिक्षण हुनेछ । शेयर मार्केटका अनुभवी खनालले शेयर मार्केटमा लागेर घरखेत गुमाउने अवस्था नआओस् भन्दै बुझेर मात्र शेयर मार्केटमा लागून् भन्ने उद्देश्य राखेर तालिमको आयोजना गरिएको बताए । 
चितवनमा ५० हजार भन्दा बढी शेयर बजारका लगानीकर्ता भएको भन्दै उनले तिनै लगानीकर्तालाई लक्षित गर्दै तालिम आयोजना गरिएको बताए । तालिममा सहभागी हुनेहरुलाई न्यूनतम शुल्क तोकिएको छ । तालिम बिहान १० बजेदेखि ४ बजेसम्म चल्नेछ । तालिममा शेयर बजारमा लागिरहेकादेखि लाग्न चाहनेहरु सबैलाई अवसर दिइने इन्टेलिजेन्ट स्टक इनभेस्टर नेपाल चितवनले जनाएको छ ।

Samabesi1
प्रकाशित मिति: कार्तिक ११, २०७८
437 Shares
Footer ads