पूर्व युवराज्ञी शाहद्वारा बालबालिकालाई न्यानो लुगा 

Samabesi1
  |   
प्रकाशित मिति: पुष ०८, २०७८
179 Shares

नवलपुर, ८ पुस : पूर्व युवराज्ञी हिमानी शाहले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका गरिब तथा विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण गर्नुभएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयमा शाहले बुधबार नगरभित्रका विभिन्न आठ वटा संस्थाका ३८४ जना बालबालिकालाई न्यानो लुगा वितरण गर्नुभएको हो । 
पूर्व युवराज्ञी हिमानी शाहले सञ्चालन गर्नुभएको सेवामूलक संस्था हिमानी कोषको आयोजनामा शाहले गैँडाकोटका सात वटा विद्यालय र एउटा अपाङ्गता भएकाहरुको संस्थामा गरी जम्मा ३८४ जनालाई न्यानो लुगा र स्वतः पानी शुद्धिकरण गर्ने बोत्तल वितरण गर्नुभएको हो । पूर्व युवराज्ञी आफै सहभागी भएर विद्यार्थीहरुलाई न्यानो लुगा र पानी शुद्धिकरणका लागि बोत्तल वितरण गर्नुभएको थियो । कार्यक्रम संयोजक एवं हिमानी कोष नवलपुरका सल्लाहकार सरोज कँडेलका अनुसार गैँडाकोटको पञ्चकन्या आधारभूत विद्यालयका २० जना, नवदुर्गा आधारभूत विद्यालयका ७० जना, नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयका सुस्तःमनस्थिति भएका १२ सहित ५७ जना, महेन्द्र स्मारक आधारभूत विद्यालयका ४५ जना, मौलादेवी आधारभूत विद्यालयका ५० जना, भाग्योदय आधारभूत विद्यालयका २५ जना, नारायणी माध्यमिक विद्यालयका ८२ जना र अपाङ्ग जीवन विकास संस्थामा आश्रित १५ जनालाई ज्याकेट, झोला र पानी फिल्टर गर्ने बोत्तल वितरण गरिएको हो । 
संस्थाले गरिब तथा विपन्न परिवारका ३५७ बालबालिका तथा अपाङ्गता भएका २७ जना बालबालिका गरी ३८४ जनालाई न्यानो लुगा सहितको सामग्री वितरण गरेको हो । न्यानो लुगा वितरण गर्नु अगाडि पूर्व युवराज्ञी शाहले गैँडाकोटको सीताराम सप्तऋषि मन्दिरमा पूजा अर्चना समेत गर्नुभएको थियो ।

Samabesi1
प्रकाशित मिति: पुष ०८, २०७८
179 Shares
Footer ads