चार हजार जनाले भरे मतदाता नामावली 

Samabesi1
  |   
प्रकाशित मिति: पुष ०७, २०७८
367 Shares

नवलपुर, ७ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा करिब चार हजार जनाले नामावली दर्ता गरेका छन् । मंसिर १७ देखि पुस २ गतेसम्म जिल्लाका चार वटा स्थानीय तहमा भएको पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा तीन हजार ९०३ जनाले नामावली दर्ता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माले पहिलो चरणमा जिल्लाको हुप्सेकोटमा एक हजार १४०, विनयी त्रिवेणीमा एक हजार ६६२, बुलिङटारमा ४४२ र बौदिकालीमा ६५९ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका बताउनुभयो । नागरिकता बनाएका सबैले फोटो सहितको मतदाता नामावलीको नाम दर्ता गराउन पाउने भए पनि १८ वर्ष पुगेका बालिकले मात्रै फोटो सहितको मतदाता परिचय पत्र पाउने शर्माले जानकारी दिनुभयो । जिल्लामा आठ वटा स्थानीय तह भए पनि सात वटा स्थानीय तहमामात्रै मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरिएको शर्माले बताउनुभयो । 
“जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकामा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नियमित मतदाता नामावली सङ्कलन भइरहेको छ” शर्माले भन्नुभयो, “त्यसैले कावासोतीबाहेकको अन्य सात स्थानीय तहमा विशेष अभियान सञ्चालन गरेका हौँ ।” चार वटा गाउँपालिकामा विशेष अभियान सकिएपछि पुस ५ देखि जिल्लाका अन्य तीन वटा नगरपालिकामा अभियान सुरु भएको शर्माले बताउनुभयो । गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकामा सञ्चालन भइरहेको दोस्रो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम पुस १९ गतेसम्म जारी रहने शर्माले जानकारी दिनुभयो । 
जिल्लामा दुई लाख ३७ हजार ८२ जना मतदाता रहेका शर्माको भनाइ छ । विसं २०७७ पुस ५ गतेसम्म जिल्लामा एक लाख २४ हजार ९८० महिला, एक लाख १२ हजार ९८ जना पुरुष र चार जना तेस्रो लिङ्गी मतदाता रहेका शर्माले बताउनुभयो । स्थानीय तहमा सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम तथा जिल्ला प्रशासन कार्यालयमा भइरहेको नामावली सङ्कलनमा नयाँ नामावली दर्ताको काम मात्रै हुने भन्दै जिल्ला निर्वाचन अधिकारी शर्माले विवरण सच्याउने, नामावलीबाट नाम हटाउने, विवाह, बसाइँसराइका कारण नाम थप्नेलगायतको काम गर्न जिल्ला निर्वाचन कार्यालयमा नै जानुपर्ने बताउनुभयो । 
स्थानीय तहमा मतदाता नामावली सङ्कलन हुँदा फरक–फरक दिन फरक–फरक वडाका बासिन्दाको नामावली दर्ता गरिएको शर्माले बताउनुभयो । 
 

Samabesi1
प्रकाशित मिति: पुष ०७, २०७८
367 Shares
Footer ads