वन्यजन्तु जोगाउनका लागि बुटवल नारायणगढ सडकमा ओभर पास बन्ने

Samabesi1
  |   
प्रकाशित मिति: पुष ०७, २०७८
122 Shares

नवलपुर, ७ पुस । निकुञ्ज तथा संरक्षित क्षेत्रका वन्यजन्तुलाई राजमार्ग क्षेत्र जोखिम बन्दै गएको छ । राजमार्गमा आवतजावत गर्ने सवारीसाधनको ठक्करबाट वन्यजन्तु घाइते र मर्ने क्रम बढिरहेको छ ।
यसको न्यूनीकरणका लागि वन्यजन्तुको सहज आवतजावत गर्न वैकल्पिक मार्ग आवश्यक भएको विज्ञहरुको भनाइ छ । वन्यजन्तु वारपार गर्नका लागि राजमार्गमा अण्डरपास र ओभरपासको व्यवस्था गर्नुपर्ने उनीहरुले बताउनुभयो । राजमार्ग माथिबाट वन्यजन्तु हिँड्ने बाटोलाई ‘ओभर पास’ र तलबाट हिँड्ने बाटोलाई ‘अण्डर पास’ भनिन्छ । नेपालमा यस किसिमका अभ्यासले खासै प्राथमिकता पाएको छैन । 
एसीयन राजमार्गको मापदण्डमा विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक खण्डमा नेपालमै पहिलो पटक वन्यजन्तु वारपार गर्न ओभर पास निर्माण गरिने भएको छ । सो सडक खण्डमा वन्यजन्तुको अत्यधिक आवातजावत हुने क्षेत्रमा ओभर पास निर्माण गर्ने तयारी गरिएको बताइएको छ । 

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख रमेशकुमार दिष्टीले वन्यजन्तुलाई वारपार गर्न सहज हुने गरी ओभर पास निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । “सडक खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने होङ्सी जङ्सनमा वन्यजन्तु क्रस गर्नेगरी ओभर पास निर्माण गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “होङ्सी जङ्सनमा ओभर पास निर्माण गर्नेगरी सम्भाव्यता अध्ययनको काम भइरहेको छ, यहाँ ओभर पास निर्माण भयो भने यो नेपालमै पहिलो ओभर पास हुनेछ ।” सो क्षेत्र वन्यजन्तु हिँडडुल गर्ने महत्वपूर्ण मार्गको रुपमा रहेकाले ओभर पास निर्माण गर्न सम्भाव्यता अध्ययन भइरहेको दिष्टीको भनाइ छ । 

नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका विभिन्न आठ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेका छन् । योजना प्रमुख दिष्टीले पुराना कल्भर्टलाई पुनःनिर्माण गर्दै वन्यजन्तुमैत्री पुल निर्माण गरिने बताउनुभयो । “तीन वटा बक्स कल्भर्ट र पाँच ठूला साइजका वन्यजन्तुमैत्री पुल निर्माण हुँदैछन्”, उहाँले भन्नुभयो, “गैँडाकोटको थुम्सीमा सात तथा कावासोतीमा एउटा वन्यजन्तुमैत्री पुल निर्माणको काम भइरहेको छ ।” 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जङ्गल महाभारत पर्वत श्रृङ्खलासँग जोडिएको स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको योजना प्रमुख दिष्टीले बताउनुभयो । वन्यजन्तु संरक्षणका हिसाबले वन्यजन्तुमैत्री पुल महत्वपूर्ण हुने उहाँको भनाइ छ । सडक विस्तारका चरणमा चार वटा वन्यजन्तुमैत्री पुल निर्माण गर्ने भनिएको भएपनि पछि पुलको सङ्ख्या वृद्धि गरिएको प्रमुख दिष्टीले बताउनुभयो । नारायणगढ–बुटवल सडक योजनाको पूर्वी खण्डको अधिकांश भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । 

यस सडकखण्डमा रहेका पुराना पुलको ठाउँमा १२ वटा ठूला पुल निर्माणको काम हुँदैछन् भने २२ वटा साना पुल निर्माणको काम भइरहेको छ । “पूर्वी खण्डमा बन्ने १२ वटा ठूला पुलको लागि केही स्थानमा बेसको काम भइरहेको छ, १० स्थानमा साना पुल निर्माणको काम भइरहेको छ” योजना प्रमुख दिष्टीले भन्नुभयो, “विभिन्न पाँच वटा साना पुल निर्माणको काम अन्तिम चराण्मा पुगेका छन् ।” 

पूर्वीखण्डमा २१५ वटा बक्स कल्भर्ट बन्ने भन्दै योजना प्रमुख दिष्टीले १०० वटा बक्स कल्भर्ट निर्माणको काम भइरहेको जानकारी दिनुभयो । “सबैभन्दा बढी सडक दुर्घटनाकै कारण वन्यजन्तुमा क्षति पुग्ने गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “यसमा गहिरिएर अध्ययनअनुसन्धान गरी यो सडक खण्डमा ओभरपासको व्यवस्था गर्न लागिएको छ । यसले जैविक विविधतामा ठूलो टेवा पुग्ने छ ।” 

अन्य कारणले वन्यजन्तु मर्दा हो–हल्ला धेरै हुने तर, सडक दुर्घटनालाई भवितव्य मान्ने गरेका कारणले गर्दा पनि समस्या देखिएको छ । त्यसैले वैकल्पिक मार्गका विषयमा योजना बनाउन थालिएको उहाँले बताउनुभयो । 

Samabesi1
प्रकाशित मिति: पुष ०७, २०७८
122 Shares
Footer ads