पहिलो पटक वीरगन्जमा आयो भारतीय निजी क्षेत्रको रेल

Desk
  |   
प्रकाशित मिति: भाद्र ३०, २०७८
207 Shares

पर्सा ,३० भदौ ।  सिर्सिया सुक्खा बन्दरगाहमा बुधबार पहिलो पटक भारतको निजी क्षेत्रको मालवाहक रेल आइपुगेको छ । करिब सवा १० बजेको समयमा भारतीय हिन्द टर्मिनल प्रालिको रेल्वे र्‍याक बन्दरगाहमा प्रवेश गरेको थियो ।
भारतको हल्दिया बन्दरगाहबाट नेपाली आयातकर्ताको सामान बोकेर आएको निजी क्षेत्रको रेल ।

इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हरियो झण्डा देखाएर उक्त रेललाई स्वागत गरेका थिए । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातानजिकको हल्दिया बन्दरगाहबाट हिँडेको ४० घण्टा पछि ८८ कन्टेनर बोकेर उक्त रेल नेपाली भूमिमा प्रवेश गरेको हो । सबै कन्टेनरमा नेपाली आयातकर्ताले तेसो मुलुकबाट आयात गरेको मालवस्तु रहका छन् ।

हिन्द टर्मिनल्स प्रालिका महाप्रबन्धक अभिनव गुप्ताले सबै कन्टेनरमा गेडागुडी तथा खाद्यान्न वस्तुहरु रहेको बताए । नेपाली आयातकर्ताहरुको माग र आवश्यकताअनुसार तत्काललाई साताको २ पटकसम्म भारतको कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगन्जसम्म यसरी रेल्वे र्‍याक ल्याइने उनले बताए । गुप्ताले भारतको निजी क्षेत्रको नेपाल प्रवेशले अब भारतीय रेल्वेको भगिनी संस्था कोंकणको एकाधिकार तोडिएको बताए ।

बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत चुडामणि शर्मा कट्टेलले सुक्खा बन्दरगाहमा भारतको सरकारी र निजी क्षेत्रको रेलबीच प्रतिस्पर्धा भएपछि रेल्वे भाडा दर सस्तो हुने बताए । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले २ महिनाअघि नेपाल र भारत सकारबीच भएको रेल्वे सर्भिस एग्रिमेन्टअनुसार, नेपाली, भारतीय वा विदेशी निजी कम्पनीले पनि मालवाहक रेल चलाउने स्वीकृति प्रदान गरेपछि भारतीय निजी कम्पनीले यसरी आफ्नो रेल ल्याउन पाएको बताए ।

हिन्द टर्मिनल्ससँगै भारतको अन्य निजी क्षेत्रका रेल पनि नेपाल आउन इच्छुक रहेको र उनीहरु प्रयासरत पनि रहेकाले भविष्यमा थुप्रै भारतीय निजी कम्पनीहरुको रेल यहाँसम्म आउनेमा आफू आशावादी रहेको उनले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले भारतीय निजी क्षेत्रको रेलको नेपालमा प्रवेशले ३ वटा फाइदा हुने बताए । ‘यसले एकातिर ढुवानी सेवामा प्रतिस्पर्धा बढछ भने त्यसले ढुवानी लागत कम पनि हुन जान्छ,’ उनले भने, ‘त्यससँगै नेपाली आयात–निर्यातकर्ताको अब समयको पनि बचत हुन जान्छ ।’

२०६१ सालदेखि सञ्चालनमा आएको मुलुककै पहिलो सुक्खा बन्दरगाह सिर्सिया सुक्खा बन्दरगाहमा स्थापना कालदेखि भारतीय रेल्वको भगिनी संस्था कोंकणको रेलकै एकाधिकार थियो ।

कान्तिपुर

Desk
प्रकाशित मिति: भाद्र ३०, २०७८
207 Shares
Footer ads