वन्यजन्तु नियन्त्रणको माग गर्दै ज्ञापनपत्र

Samabesi1
  |   
प्रकाशित मिति: मंसिर २७, २०७८
165 Shares

नवलपुर, २७ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले वन्यजन्तु नियन्त्रणको काम गर्दै ज्ञापनत्र बुझाएका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किने गैँडा लगायतका वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयले नियन्त्रणको माग गर्दैै आइतबार वडा कार्यालयमार्फत निकुञ्जलाई ज्ञापनपत्र बुझाएका हुन् । 
मध्यविन्दु नगरपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थान, इटौरा, रतनपुरलगायतका क्षेत्रमा निकुञ्जबाट आउने गैँडा, बँदेललगायतका वन्यजन्तुका कारण असुरक्षा बढेको भन्दै जनावार बस्ती प्रवेशमा रोक लगाउनका लागि माग गरिएको हो । मध्यविन्दु–३ ब्रम्हस्थानका सूर्यप्रसाद पौडेलले गैँडा र बँदेलका कारण गाउँमा लगाएका अन्नबाली नष्ट हुने गरेको बताउनुभयो । “निकुञ्जबाट आउने जङ्गली जनावरका कारण हामीले लगाएको अन्नबाली पूरै स्याहार्न पाउँदैनौँ” पौडेलले भन्नुभयो, “दिउँसै बस्तीमा गैँडा पस्न थालेपछि हामीलाई कामधन्दा गर्न बाहिर निस्कन पनि समस्या हुन थालेको छ ।” 
यस क्षेत्रमा पछिल्लो समय नियमित जस्तो दिउँसै गैँडा निस्कन थालेका छन् । “दिउँसै गैँडा आउन थालेपछि नियमित कामकाजमा जान समेत नसक्ने अवस्था आइसकेको छ” पौडेलले भन्नुभयो, “हाम्रो ठाउँमा गैँडाको आक्रमणबाट बर्सेनि स्थानीयवासी घाइते हुने गरेका छन्, हामीहरु त्रासमा बाँच्न बाध्य भएका छौँ ।” गाउँलेहरुले जङ्गली जनावरलाई गाउँ छिर्न रोक्नका लागि मेसजाली लगाउने तथा फेन्सिङ वायर (विद्युतीय झड्का)को काम तुरुन्त गर्न मध्यविन्दु ३ नम्बर वडा कार्यालयमार्फत मध्यवर्ती क्षेत्र, नगरपालिका र निकुञ्जको ध्यानाकर्षण गराएका छन् । 
जङ्गली जनावरका कारण गाउँमा त्रास फैलिदा समेत निकुञ्ज र नजिकै भएको मध्यवर्ती समिति बेखबर बसेको भन्दै स्थानीयवासीहरुले हस्ताक्षरसहित ध्यानाकर्षण गराएका हुन् । दिउँसै गाउँम गैँडा पस्न थालेपछि यहाँका बासिन्दा काममा जान समेत डराउन थालेका स्थानीय बुद्धिराम बोटेले बताउनुभयो । “गाउँम दिनदिनै दिनहुजसो गैँडा आउँछ, बालीनाली जोगाउने कुरा त परको भयो, यहाँ हामीलाई ज्यान जोगाउनै गाह्रो भइसक्यो” बोटेले भन्नुभयो, “वर्षौँदेखि गैँडाकै त्रासमा छौँ, यो समस्या तुरुन्तै समाधान गरेर हाम्रो दैनिकी सहज बनाउन सबैले ध्यान दिनुपर्छ ।” 
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको पहलमा निकुञ्जबाट गैँडा, बँदेल लगायतका जनावर गाउँ पस्नबाट रोक्न विद्युतीय तार विस्तार गरेपनि तारको नियमित मर्मत संभार नहुँदा जनावर सजिलै गाउँ छिर्न थालेका स्थानीय सुवास नेपालले बताउनुभयो । “नारायणी नदीको किनारैकिनार विद्युतीय तार त लगाइएको छ” नेपालले भन्नुभयो, “तर, तारको नियमित हेरविचार नपु¥याउँदा उक्त तार ठाउँठाउँमा चुँडिएका छन्, त्यसकारण पनि जङ्गली जनावर सजिलै गाउँ छिर्ने गरेका हुन् ।” 
वन्यजन्तुलाई बस्तीमा पस्नबाट रोक्न विद्युतीय तारबार प्रभावकारी नभएको नेपालले गुनासो गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्जबाट बर्सेनि मध्यवर्ती क्षेत्रका गाउँमा गैँडा, बँदेल लगायतका जनावरले ठूलो जनधनको क्षती गर्दै आएको भएपनी निकुञ्जले जनावरबाट हुने क्षती रोक्न कुनै दीर्घकालीन योजना नबनाएको नेपालको भनाइ छ । वडा कार्यालय, नगरपालिका र मध्यवर्ती क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जले गाउँको समस्या तत्काल समाधान नगरेकोमा वन्यजन्तु पीडित स्थानीयहरुले आफ्नो जिउधन रक्षाको लागि थप सशक्त आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने नेपालले बताउनुभयो । 
जङ्गली जनावरले अन्नबालीमा क्षति पु¥याएको अवस्थामा पनि त्यसको राहत लिने प्रकृया समेत झण्झटिलो भएको स्थानीयको गुनासो छ । जङ्गली जनावरलाई गाउँ पस्नबाट रोक्नका लागि निकुञ्जले प्रभावकारी ढङ्गले काम गर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो । स्थानीयको समस्याको बारेमा आफूहरुलाई पहिले जानकारी नभएको उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत आचार्यले निकुञ्जका जनावर बस्ती पस्नबाट रोक्नका लागि काम गरिने बताउनुभयो । 

Samabesi1
प्रकाशित मिति: मंसिर २७, २०७८
165 Shares
Footer ads