खैरहनीमा फोहोरमैला व्यवस्थापन सम्बन्धि अभिमूखिकरण
चितवन , १९ मंसिर । खैरहनीमा फोहोरमैला व्यवस्थापनको लागि टोल विकास संस्थाका प्रतिनिधिहरुलाई अभिमूखिकरण दिएको छ । खैरहनीको मुख्य बजार क्षेत्र रहेको खैरहनी वडा नम्बर ८ का टोल विकास संस्थाका प्रतिनिधिहरुलाई आज फोहोरको पहिचान र छुट्याउने बिषयमा अभिमूखिकरण दिइएको खैरहनी नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख आशिष पौडेलले जानकारी दिए । कार्यक्रममा सहभागीहरुलाई प्रयोगात्मक रुपमै कुहिने , नकुहिने र अस्पतालजन्य फोहोर व्यवस्थापनको बिषयमा प्रशिक्षण दिएको पौडेलले बताए ।
अभिमूखिकरण कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले फोहोर व्यवस्थापनको बिषय अत्यन्तै जटिल बिषय भएको भन्दै नगरपालिकाले फोहोर व्यवस्थापनको लागि हालै टेन्डर प्रक्रियाबाट कम्पनी छनौट गरेकोले सबै नगरवासी मिलेर फोहोर व्यवस्थापनको काममा सहयोग गर्नुपर्नेमा जोड दिए । उनले आम नागरिकले कुहिने र नकुहिने फोहोर छुट्याएर दिने गरेमा मात्रै फोहोरको सहज व्यवस्थापन गर्न सकिने बताए । सबै वडामा टोल विकास मार्फत अभिमूखिकरण दिइने योजना अनुरुप आज खैरहनी ८ बाट सुरु गरिएको नगर प्रमुख खनियाले बताए । कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्मा , खैरहनी ४ का वडा अध्यक्ष वेद बहादुर अधिकारी , खैरहनी ८ का वडा अध्यक्ष शंकर कंडेल लगायतले जनप्रतिनिधि र नगरपालिकाले मात्रै चाहेर फोहोर व्यवस्थापन गर्न कठिन नभएकोले सबैले नागरिकले सहयोग गर्नुपर्ने बताएका थिए ।